फाइल तस्वीर
काठमाडौं– निर्वाचन आयोगले दल दर्ता गर्ने काम सुरु गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रयोजनका लागि आयोगले दल दर्ता गर्ने प्रक्रिया अघि बढाएको हो ।

दल दर्ताको कार्य प्रारम्भ गरे लगतै निर्वाचन आयोगमा पाँच वटा राजनीतिक दलले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागी हुनका लागि दल दर्ता गराएको आयोगले जनाएको छ । निर्वाचन प्रयोजनका लागि आयोगमा गै नयाँ दल दर्ता गराउनेमा जनमत पार्टी नेपाल, समावेशी पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी र मौलिक जरोकिलो पार्टी रहेको आयोगले जनाएको छ ।

गत साउन १९ गतेसम्म आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुलाई संविधानको धारा २७१ बमोजिम निर्वाचन आयोगको कार्यालयमा आवश्यक कागजात सहित दल दर्ताका लागि निवेदन दिन सक्ने आयोगले जनाएको छ ।

आयोगका अनुसार दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या, वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति र दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मितिसमेत उल्लेख गर्नुपर्ने छ ।

निर्वाचनमा सहभागी हुने राजनीतिक पार्टीले आयोगमा दल दर्ताको लागि निवेदन दिंदा प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेशसभा सदस्यको हकमा प्रदेशगत रुपमा ७ वटा प्रदेशको लागि छुट्टाछुट्टै निवेदन पेश गर्नुपर्ने आयोगले जनाएको छ । आयोगले दल दर्ताका लागि यही श्रावण ३१ गतेसम्मको समयसीमा तोकेको छ ।