काठमाडौं – नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले वर्तमान सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यावसायिक बीमाको रूपमा बुझिरहेको आरोप लगाउनुभएको छ । आज आइतबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यावसायिक नबनाई सामाजिक सुरक्षाको स्वास्थ्य बीमा बनाउनुपर्ने बताउनुभयो ।

सांसद भट्टराईले स्वास्थ्य बीमाको दायरा पनि बढाउन आवश्यक रहेको भन्दै १ लाखबाट अब १० लाख बनाउनुपर्नेमा जोड दिनुभयो । वर्तमान सरकारले ६ अर्बभन्दा बढी कोरोनाको बीमा रकम भुक्तानी गर्न आनाकानी गरिरहेको उहाँको आरोप छ । सांसद भट्टराईले भन्नुभयो, ‘पछिल्लो स्वास्थ्य बीमा कार्यक्रमलाई आजको सरकारले व्यावसायिक बीमाको रूपमा बुझिरहेको छ । तर यो व्यावसायिक बीमा होइन, सामाजिक सुरक्षाको स्वास्थ्य बीमा हो । यसलाई सामाजिक सुरक्षा बीमाअन्तर्गत निरन्तर अघि बढाउन र स्वास्थ्य बीमा ऐन अन्तर्गत बढाइ पूर्ववत अवस्थामा सञ्चालन गर्नको निम्ति हाम्रो दलको तर्फबाट ध्यानाकर्षण गराउन चाहन्छु ।

हामीले स्वास्थ्यबीमाको दायरा फराकिलो बनाउन त्यसलाई १० लाखसम्म भुक्तानी दिने व्यवस्था गर्नको निम्ति भन्दै आएका थियौँ । आज १ लाख छ, १० लाख बनाउनु पर्छ । ६ अर्बभन्दा बढी कोरोनाको बीमा रकम भुक्तानी गर्न सरकारले आनाकानी गरेको छ ।’ उहाँले सेवानिवृत्त भएका डाक्टरहरुलाई सेवामा राखिराख्न बहादुरी सरकारले नागरिकता नै ४० वर्ष बनाइदिन भन्दै गठबन्धन सरकारप्रति व्यङ्ग्य समेत गर्नुभएको छ ।