काठमाडौं – प्रतिनिधिसभा बैठकमा लोकसेवा आयोगको परीक्षा प्रणाली सुधार गर्नुपर्ने माग उठाइएको छ । आज प्रतिनिधिसभा बैठकको विशेष समयमा यस्तो माग उठाइएको हो । लोकसेवा आयोगको कार्यशैली र तौरतरिकामा समयानुकूल परिवर्तन हुन नसक्दा युवा मर्कामा परेको भन्दै आयोगको परीक्षा प्रणाली सुधारको माग गरिएको हो ।

सांसद डा. पुष्पाकुमारी कर्ण कायस्थले आयोगले योग्य जनशक्तिलाई सार्वजनिक प्रशासनमा सिफारिस गरेर सकारात्मक कार्य गरिरहेको भए पनि तौरतरिकामा समयानुकूल परिवर्तन हुन जरुररी रहेको औँल्याउनुभयो । “आयोगले सूचना प्रकाशित भएपछि भाइबहिनीहरू फाराम भर्न १० ठाउँमा पुग्नुपर्ने बाध्यता छ । यसले उनीहरूको महत्त्वपूर्ण समय खेर जाने र स्रोतसाधनको दुरुपयोग भएको छ,” उहाँले भन्नुभयो, “आयोगको विज्ञापनको नाममा ट्युसन कक्षाको व्यापार मौलाएको छ । प्रशासकहरूको समय ट्युसनमा खर्च हुने र त्यसबाट सार्वजनिक प्रशासनमा असर परेको छ ।”

उहाँले नेपाली सेना, नेपाल प्रहरी र सशत्र प्रहरीका लािग एउटै पाठ्यक्रम निर्माण गर्ने र एकैपटक परिक्षा सञ्चालन गरेर मेरिटका आधारमा भर्ना गर्नुपर्ने बताउनुभयो । यस्तै, उहाँले सार्वजनिक संस्थाका लागि पनि एउटै पाठ्यक्रम निर्माण गर्ने र एकैपटक परिक्षा सञ्चालन गरेर मेरिटका आधारमा भर्ना गर्नुपर्नेमा जोड दिनुभयो ।