काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजबाट ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सञ्चालन गरेको छ । आइतबार एक कार्यक्रम आयोजना गरेर पुनः काठमाडौं उपत्यकामा नो हर्न अभियानलाई प्रभावकारी बनाइने जनाएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनमा काठमाडौं महानगरपालिका, पद्मकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेण्टल कलेज तथा हस्पिटल सँगको सहकार्यमा यो अभियान सञ्चालन गरेको हो । ट्राफिक स्वयंसेवक परिचालन समुद्घाटन कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह नो हर्न अभियानलाई काठमाडौंमा पुनः प्रभावकारी रूपमा सञ्चालन गर्न लागिएको बताउनुभएको छ ।

उहाँले नो हर्न अभियान पहिल्यै बाट सञ्चालन गरिए पनि कोरोना लगायत विभिन्न कारण प्रभावकारी बन्न नसकेकाले अब पुनः अभियानलाई प्रभावकारी बनाइन लागेको बताउनुभयो । मेयर साहले सवारीसाधनबाट आउने हर्नका कारण मानसिक तिक्तता हुनेजस्ता समस्या बढेकोले यसलाई प्रभावकारी बनाउन लागेको बताउनुभयो ।

‘पहिलादेखि नै लागू भएको हो । यसको अभ्यासलाई पुनः प्रभावकारी बढाउनुपर्छ भनेर यो अभियान सुरु गरेका हौँ । जनचेतना फैलाउन आवश्यक पनि भएको छ । भेकलहरुबाट आउने हर्नले डिस्टर्ब मात्रै नभएर मानसिक पनि समस्या पैदा गरेको छ । यसले इरिटेशन एकदमै धेरै बढाइरहेको पाइएको छ,’ मेयर साहले भन्नुभयो, ‘ट्राफिक व्यवस्थापन गर्नको लागि हर्न बजाउनु र नबजाउनुले पनि धेरै फरक पर्ने रहेछ । व्यवस्थापन मिलाउनमा नै गाह्रो भएको थियो । बाटोमा सवारी गुडाउँदा एउटा धैर्य राख्नुपर्छ ।’

कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख, प्रहरी नायब महानिरीक्षक मिरा चौधरीले नेपालको परिवेशमा नो हर्न अभियानलाई सफल बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले जनचेतनामूलक कार्यक्रमले समाजमा फरक कथा बनाउने बताउनुभयो । काठमाडौं महानगरपालिकाले वि.सं.२०७३ साल चैत्र महिनामा नो हर्न अभियान सञ्चालन गरेको थियो । तर कोरोना लगायतका विभिन्न समस्याका कारण अभियान प्रभावकारी बन्न सकेको थिएन ।