प्रतीकात्मक तस्वीर

लमजुङ – अविरल वर्षाले आएको पहिरोले गएरातिदेखि डुम्रे–बेँसीसहर र बेँसीसहर चामे सडक पुन: अवरुद्ध भएको छ । डुम्रे बेँसीसहर सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिरा र मस्र्याङ्दी गाउँपालिका–४ रामबजार पहिरोले बेँसीसहर चामे सडक अवरुद्ध भएको हो ।

वैकल्पिक सडकका रुपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा ढुङ्गासहितको लेदो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो । उहाँका अनुसार पहिरोले अवरुद्ध बनाएको सडक एक्साभेटरको माध्यमबाट खुलाउने कार्य भइरहेको छ । यही भदौ ११ गते र गत असारको पहिलो हप्ता आएको बाढीले सो सडकको देउरालीडाँडामा सडक बगाएको थियो । सडक अवरुद्धका कारण बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवन, गोरखा, तनहुँ जाने र सो स्थानबाट बेँसीसहर आउने यात्रुहरु बढी मारमा परेका छन् । यस सडक ४२ किलोमिटर दूरीको छ ।

त्यस्तै, लमजुङ मनाङ जोड्ने बेँसीसहर चामे सडकअन्तर्गत उक्त रामबजारमा पहिराले अवरुद्ध बनाएपछि सवारी साधन सञ्चालन हुन सकेको छैन । सडक माथिबाट ठूला ढुङ्गामाटा सहितको पहिरो खसेर सडक अवरुद्ध भइरहेको प्रहरीले जनाएको छ । यस सडक हुँदै विशेष गरी मनाङवासीहरु आवतजावत हुने गर्दछन् । तर, उनीहरुलाई यसरी पटकपटक सडक अवरुद्ध हुँदा समस्या हुँदै आएको छ । यस सडक ६५ किलोमिटरको दूरीमा रहेको छ । रासस