काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गर्नुभएको छ । आज शनिबार काठमाडौंमा आयोजित गुह्येश्वरी बाल शिक्षा माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन एवं सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले ‘फस्र्ट म्यान’ बनेर देशको विकास गर्ने चाहना रहेको बताउनुभएको हो ।

उहाँले आफूले पार्टी र सरकारमा रहेर विभिन्न तहमा रही काम गरेको अनुभव रहेको बताउँदै अबको चाहना ‘वान अफ म्यान’ बनेर देशको सेवा गर्न चाहेको बताउनुभयो । उहाँले असल नियत भएको र लोभ नभएको नेताहरू ठाउँमा पुगेपछि देशको कसरी कायापलट हुन्छ भन्ने कुरा आफू प्रधानमन्त्री बनेपछि जनताले अनुभव गर्ने बताउनुभएको छ ।

नेता सिंहले जनतालाई अधिकार दिलाउने काम नेपाली काङ्ग्रेसले गरेको उल्लेख गर्दै अबका दिनमा प्राप्त अधिकारलाई संस्थागत गर्दै देश विकास र आर्थिक उन्नतिको अभियानमा काङ्ग्रेसले नेतृत्व गर्ने बताउनुभयो । उहाँले देशमा प्रदूषणका कारण विभिन्न समस्या निम्तिरहेको भन्दै ग्रीन इनर्जी उत्पादनमा जोड दिनुपर्ने र हरित ग्यासकै माध्यमबाट देशमा विकासले फड्को मार्ने उहाँको दाबी छ ।

त्यसैगरी नेता सिंहले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अहिले रोइरहेको टिप्पणी समेत गर्नुभयो । उहाँले नेकपा एमालेले बहुमत ल्याएर सत्तामा जाँदासमेत काम गर्न नसकेको टिप्पणी गर्नुभयो । उक्त कार्यक्रममा बागमती प्रदेशका पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ पूर्व गभर्नर हिमालय संम्शेर राणा काठमाडौँ महानगर ११ नं वडा अध्यक्ष हिरालाल तण्डुकार लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो भने कार्यक्रममा विद्यालयलाई योगदान र्पुयाउने व्यक्तित्वलाई सम्मान समेत गरिएको थियो ।