काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानमा रहेका नेपालीहरुको अवस्थाबारे बुझ्ने बताउनुभएको छ । आज शनिबार बिहान जापानको राजधानी टोकियोमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले नेपालले जापानमा बस्ने नेपालीको लागि के गर्न आवश्यक छ त्यसको अध्ययन गर्ने बताउनुभएको हो ।

उहाँले नेपाल र जापानको सम्बन्ध पुरानो भएको बताउँदै नेपालको प्रमुख ‘डोनर कन्ट्री’ जापान भएको समेत बताउनुभयो । आफ्नो र राष्ट्रियसभा अध्यक्षको भ्रमणले दुई देशबीचको सम्बन्ध विस्तार गर्न थप सहयोग पुग्ने उहाँको विश्वास छ । उहाँले प्रविधिको क्षेत्रमा अगाडि रहेकाले जापान सबैको निमित्त प्रेरणाको स्रोत भएको बताउनुयो ।

प्रचण्डले भन्नुभयो -‘जापान हामी सबैका निम्ति एउटा प्रेरणाको स्रोत पनि हो । कसरी युद्धबाट तवाहा बनाइएको देश, आफ्नै खुट्टामा उभिएर, आफ्नै मेहनतले यति माथि आउनसक्दो रहेछ भन्ने कुराको उदाहरण जापान हो ।’ प्रचण्डले नागरिकता विधेयक एनआरएनएको हितमा हुने गरी ल्याइएको बताउनुभयो । उहाँले नेपालभित्र विकासको नयाँ प्रक्रियाको सुरुवात भयो भन्ने सन्देश दिन सके नेपाली फर्कने उहाँको भनाइ छ । अध्यक्ष प्रचण्डले जापान भ्रमणका क्रममा जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई भेट्ने इच्छा रहेपनि पूरा हुन नसकेको बताउनुभयो ।