काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टीका नेताहरुले चार जिल्लाबाट चुनाव लड्न प्रस्ताव गरेका छन् । पार्टीमा कुन नेता कहाँबाट लड्ने भन्ने विषयमा छलफल चल्न थालेपछि प्रचण्डलाई पार्टीका नेताहरुले चार जिल्लाबाट चुनाव लड्न प्रस्ताव गरेका हुन् । पार्टीका नेताहरुले प्रचण्डलाई चितवन क्षेत्र नम्बर तीन छोडेर गोरखा क्षेत्र नम्बर एक, धनुषा क्षेत्र नम्बर एक, सिन्धुली क्षेत्र नम्बर दुई र सिरहा क्षेत्र नम्बर तीनबाट चुनाव लड्न प्रस्ताव गरेका हुन् ।

प्रचण्डको चुनाव क्षेत्रलाई लिएर अनेक विश्लेषण हुन थालेपछि पार्टीका नेताहरुले चुनावी अङ्क गणितको हिसाब गरेर चार जिल्लाका नेताहरुले भेटेरै ती क्षेत्रमा चुनाव लड्न अफर गरेका हुन् । गोरखा क्षेत्र नम्बर १ का सांसद हरि अधिकारीले आफ्नो क्षेत्रबाट चुनाव लड्न प्रचण्डलाई प्रस्ताव गरेको बताउनुभयो । ‘गोर्खाली जनता र पालिका नेतृत्व तहमा भएका साथीहरुको तर्फबाट अध्यक्षलाई गोरखा क्षेत्र नम्बर एकबाट चुनाव लड्न प्रस्ताव गरेको हुँ । उहाँले त्यस विषयमा जवाफ दिनुभएन’ अधिकारीले भन्नुभयो, ‘आफ्नो व्यक्तिगत इच्छा नभइ पार्टी र पालिकाका जनप्रतिनिधिको इच्छा अध्यक्ष कमरेडकहाँ पुर्याएको हुँ । अरु कुनै ठोस निर्णय भएको छैन ।’

त्यस्तै नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य हरिबोल गजुरेल र केन्द्रीय सदस्य राजन दाहालले समेत प्रचण्डलाई सिन्धुली क्षेत्र नम्बर २ बाट चुनाव लड्न प्रस्ताव गर्नुभएको छ । पार्टी नेतृत्वलाई सिन्धुलीका जनताबाट अनुमोदन गराउने इच्छा प्रचण्डकहाँ राखेको दाहालले बताउनुभयो । सिन्धुलीबाट चुनाव लड्ने प्रचण्डको इच्छा नभई आफूले नै चुनाव लड्न अफर गरेको उहाँले बताउनुभयो । यदि प्रचण्ड सिन्धुली बाटै चुनाव लडेमा गजुरेल र दाहाल दुबै नेता छोड्न तयार भएको बताइएको छ ।

यस्तै स्थायी समिति सदस्य मातृका यादवले समेत आफ्नो क्षेत्रबाट चुनाव लड्न प्रचण्डलाई प्रस्ताव गर्नुभएको छ । त्यसैगरी सिरहाबाट प्रतिनिधित्व गर्ने अजयशंकर नायक, विश्वनाथ साह र महेन्द्र पासवान लगायतका माओवादीहरूले समेत प्रचण्डलाई सिरहाबाट चुनाव लड्न सुझाव दिनुभएको हो । उहाँहरुले दोस्रो संविधानसभा चुनावमा सिरहा क्षेत्र नम्बर ५ बाट प्रचण्ड निर्वाचित भएकाले पुनः सिरहाबाटै चुनाव लड्न सुझाव दिनुभएको हो । पार्टीका नेताहरुले प्रचण्डलाई चार जिल्लाबाट चुनाव लड्न प्रस्ताव गरेपनि उहाँले ठोस जवाफ भने दिनुभएको छैन । प्रचण्डले चितवन क्षेत्र नम्बर तीनबाटै चुनाव लड्ने बताउँदै आउनुभएको छ ।