फाइल तस्वीर

काठमाडौँ– परराष्ट्र मन्त्रालयले चीन–ताइवान बढ्दो तनावलाई नजिकबाट नियालिरहेको बताएको छ । परराष्ट्र मन्त्रालयमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अमेरिकी सभामुख नान्सी पेलोसीको ताईवान भ्रमणपछि उत्पन्न परिस्थितिलाई नेपालले नजिकबाट नियालीरहेको बताउनुभएको हो । उहाँले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेपाल सदैव ‘एक चीन नीति’को समर्थनमा रहेको पनि स्मरण गराउनुभयो ।

अमेरिकी सभामुख पेलोसीको भ्रमणलाई चीनले आफ्नो मुलुकको सार्वभौमसत्ता र स्वाधिनतामाथिको आक्रमण भनेको छ । प्रवक्ता लम्सालले एक शान्तिप्रिय राष्ट्रको रुपमा नेपाल सदैव अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वको पक्षमा रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपालले यस घटनालाई नजिकबाट नियालीरहेको छ । नेपालले सदैव एक चीन नीति समर्थन गर्दै आएको छ । दुवै मुलुकले एकअर्काको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधिनताको सम्मान गर्दै आएका छन् । एक शान्तिप्रिय राष्ट्रको रुपमा नेपाल सदैव अन्तराष्ट्रिय शान्ति र स्थायित्वको पक्षमा रहेको कुरा यहाँहरुलाई जानकारी गराउन चाहन्छु ।’

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले यसैसाता चीनको चेतावनीको बाबजुद ताइवानको भ्रमण गरेपछि अहिले चीन–ताइवान र चीन–अमेरिका सम्बन्धमा तनाव बढेको छ । पेलोसीले ताइवानको भ्रमण गरेको जवाफमा अहिले चीनले ताइवान वरपर अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गरिरहेको छ । चीनले ताइवानको सीमा नजिक मिसाइल समेत प्रहार गरेको छ । ‘दुवै मुलुक (नेपाल र चीन) ले एक अर्काको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधिनताको सम्मान गर्दै आएका छन्,’ परराष्ट्र प्रवक्ता लम्सालले भन्नुभयो, ‘एक शान्तिप्रिय राष्ट्रको रूपमा नेपाल सदैव अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वको पक्षमा रहेको जानकारी गराउन चाहन्छु ।’

परराष्ट्र मन्त्रालयले नेपाल–चीन दुवै मुलुकले सदैव एक अर्काको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधिनताको सम्मान गर्दै आएको जनाएको छ । पत्रकार सम्मेलनमा उहाँले परराष्ट्र मन्त्री डा. नारायण खड्काले यही साउन २४ देखि २६ गतेसम्म गर्ने चीन भ्रमणलाई चीन–ताइवान बढ्दो तनावसँग जोडेर नहेर्न आग्रह समेत गर्नुभयो ।