भक्तपुर – भक्तपुरमा आठ मतदान स्थल परिवर्तन गरिएको छ । मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको सिफारिसमा ती मतदान स्थल परिवर्तन गरेको हो ।

कार्यदलले स्थलगत अध्ययनका आधारमा सिफारिस समितिले सिफारिस गरे बमोजिम परिवर्तन गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीले जानकारी दिनुभयो । मतदान स्थल परिवर्तन भएका मतदान स्थलमा भक्तपुर नगरपालिकाका तीन, मध्यपुरथिमि नगरपालिकाका तीन र चाँगुनारायण नगरपालिकाका दुई रहेका छन् ।

कार्यदलले भक्तपुर नगरपालिका–२ को जागृति माध्यमिक विद्यालय खौमाको मतदान स्थललाई जनज्योति पुस्तकालयको नयाँ भवन नःपुखुः, वडा नम्बर ७ को महेश्वरी सत्तल इनाचो मतदान स्थललाई पँम्बो गणेश (खँचा पोखरीसँगै) र वडा नम्बर ९ को नगरपालिका नयाँ भवन मतदान स्थललाई बागेश्वरी माध्यमिक विद्यालय च्याम्हसिंहमा सार्ने निर्णय गरेको बिसीले बताउनुभयो ।

त्यस्तै मध्यपुरथिमि नगरपालिका–१ को उपस्वास्थ्य चौकी मतदान स्थललाई युनिक नेपाल स्कुल, वडा नम्बर ४ दथुटोल परिवार नियोजन क्लिनिक मतदान स्थललाई आदर्श माध्यमिक विद्यालय र वडा नम्बर ५ को नासननी पाटी मतदान स्थललाई सिद्धिकाली मन्दिर परिसरमा सारिएको छ ।

चाँगुनारायण नगरपालिका–१ सरस्वती मन्दिर पाटी सरस्वतीखेलको मतदान स्थल श्री विनायक सरस्वती आधारभुत विद्यालय र वडा नं ३ को पुरानो गाविस भवन झौखेल मतदान स्थल शहरी स्वास्थ्य केन्द्रमा कायम गरिएको छ ।

भक्तपुरमा मतदान स्थलको संख्या घटेको छ । यसअघि ७७ मतदान स्थल भएकामा अब ७६ मतदान स्थल कायम गरिएको बिसीले बताए । मध्यपुरथिमि–४ को दथुटोल परिवार नियोजन क्लिनिक मतदान स्थललाई आदर्श माध्यमिक विद्यालय मतदान स्थलमा गाभिएको छ ।

भक्तपुरमा २१९ मतदान केन्द्र रहेका छन् । कार्यदलले भक्तपुरका ३३ मतदान स्थलको नाम र ठेगानामा भएको त्रुटि सच्याएर नयाँ कायम गरेको छ । त्रुटि सच्याएका मतदान स्थलमा भक्तपुर नगरपालिकाको एक, चाँगुनारायण नगरपालिकाका ६, सूर्यविनायक नगरपालिकाका २२ र मध्यपुरथिमि नगरपालिकाका चार केन्द्र रहेका छन् । रासस