भरतपुर – चितवनको भरतपुर–२९ केराबारीमा पहिरो जाँदा पुनः नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान २ बजे पहिरो खसेर अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

केराबारी मौरीपुल क्षेत्रमा पटक पटक पहिरो गएर सडक अवरुद्ध हुँदा यात्रुहरुले सास्ती पाएका छन् । गत सोमबार यही स्थानमा पहिरो जाँदा यात्रुहरु झण्डै २४ घण्टासम्म जाममा परेका थिए । बुधबार पनि पहिरो गएर बाटो अवरुद्ध भएको थियो ।

गएराती गएको पहिरोले सडक अवरुद्ध भएकोले अहिले दुई वटा डोजरको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको र सबै पहिरो हटाएर सकिएपछि मात्रै बाटो खुलाउन सकिने भएकोले केही समय लाग्ने प्रहरीको भनाइ छ ।