फाइल तस्बिर

राजविराज – सप्तरीमा बुधवार करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन् ।

उनीहरु ससुरा–बुहारी हुन् । इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सात महिनाकी गर्भवती अन्जली आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको र अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो । दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

यस्तै सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा ५६ वर्षीय शिवशङ्कर साहको समेत करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको हो ।