फाइल तस्वीर

काठमाडौं – मन्त्रिपरिषदको बैठक आज बस्दै छ। आज दिउँसो १ बजे बस्ने बैठकले आगामी सङ्घ र प्रदेशको निर्वाचनको मिति तय गर्ने तयारी गरेको छ।

हिजो बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी ४ मङ्सिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका छन्। त्यसैअनुसार निर्वाचनको मिति तय गर्ने देउवाको तयारी रहेको छ । यसअघि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको मिति तोक्न केही दिन पर्खन भनेको बताउनुभएको थियो।

संवैधानिक व्यवस्थाअनुसार मिति तोक्न ढिलाइ भइसकेको छ। प्रधानमन्त्री देउवाले निर्वाचन घोषणाबारे प्रमुख प्रतिपक्षी दल एमाले, सभामुख र कानुनविद्लगायत सरोकारवालासँग परामर्श गरिसक्नुभएको छ । सरकारले संसदबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पास गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ। निर्वाचन आयोगले सरकारले ढिलै निर्वाचनको मिति घोषणा गरेता पनि तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने बताएको छ।