सुर्खेत – जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धितालसहित अन्य कर्मचारी कार्यकक्ष परिसरमै मदिरा सेवन गरेको अवस्थामा फेला परेका छन् । मङ्गलबार बेलुका सात बजेको समयमा कार्यालय प्रमुख, प्रशासन अधिकृत, सुब्बा, लेखापाल, कृषि प्राविधिक सहित कार्यकक्ष परिसरमै मदिरा सेवन गरिहेको अवस्थामा फेला परेका हुन् ।

नेत्र विक्रम चन्द ( विप्लव) नेतृत्वको नेकपा जाजरकोटले कार्यालयमा मदिरा सेवन गरिरहेका उनीहरूलाई पक्राउको माग गर्दै जिल्ला प्रहरी कार्यालय जाजरकोटलाई बुझाएको छ ।

कार्यालयको ढोका बन्द गरी नागरिक कक्षमा मदिरा सेवन गरिरहेका थिए । सरकारी कार्यालयभित्र मदिरा सेवन गर्नु कस्तो गैरजिम्वारीपन ? भन्दै नेकपा भेरी नगर कमिटी ईञ्चार्ज विराजन शाहीले कारबाहीको माग गरेको बताउनुभयो।

यस बारेमा बुझ्न खोज्दा आफ्नै क्वाटरको बाहिर साथीभाइ बसिरहेको कार्यालय प्रमुख धितालले बताउनुभयो । तर प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले आवश्यक कारबाही गरिने बताउँदै भन्नुभयो, आज बुधबार बिहान छलफलका लागि बोलाएका छौं आवश्यक कारबाही हुन्छ ।