विराटनगर – अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएकोले नदी बेलका नगरपालिका–८ डुम्रिबोटेबाट पश्चिमतर्फ पसेको छ । आज बिहान करिब चार बजेतिर पश्चिमतर्फको डिल कटान गर्दै कोसी बस्तीतर्फ पस्दा बेलकाको पाँचवटा वडा डुबानको उच्च जोखिममा परेका हुन् ।

कोसी पसेपछि त्यो क्षेत्र अहिले जलमग्न भएको छ । सप्तकोसीको मुल प्रवाह नै बाँधतिर ठोक्किएर बग्दा मङ्गलबार दिनभरी बाँध कटान गरेको थियो । नगरपालिकाको पहलमा बाँधमा रोकथाम गर्ने प्रयास गरिए पनि सफल नभएको र बिहान करिब पौने ४ बजेतिर नदी बस्तीतर्फ प्रवेश गरेको बेलकाका मेयर अशोक कार्कीले जानकारी दिनुभयो ।

कोसीको बाढी वडा नं। ८ हुँदै ३, ९ र २ नम्बर वडाका बस्तीहरू डुबाउने जोखिम रहेको मेयर कार्कीले बताउनुभयो । राति कोसी फुटेपछि स्थानीयले घर छाड्न थालेका छन् । कोसीमा पानीको सतह नघटे बेलकाको वडा नं। ८ डुम्रीबोटस्थित कोसीको बाँध भत्किने भन्दै गाउँलेहरूले मङ्गलबार दिनभर घरका अन्नपात सुरक्षित ठाउँमा सारेका थिए ।

नेपाल प्रहरीको टोली कटान भइरहेको स्थान नजिकै रातभरी टेन्ट लगाएर निगरानीमा बसेको थियो । नगरपालिकाले अहिले बढी जोखिम क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सार्नका लागि ट्याक्टरको व्यवस्था गरिरहेको मेयर कार्कीले बताए । कोसीको पश्चिमी बाँध फुटेपछि वडा नम्बर ८ को सिसौली, वडा नं। ९ को धौरी, ३ को दुर्गामन्दीर, भाटेपुल, एविसी टप्पु, गुणीटोल, जगना र वडा नं। २ को लालभित्ती, बानडाँडा, चन्द्रपुर र वडा नं। १ को पुरन्दह, करैया, बेलहा डुबानमा पर्ने जोखिम बढेको छ ।

वडा नं। ३ दुर्गामन्दिरका गणेश पौडेलले कोसी फुटेर बस्तीतर्फ पसेको बताउनुभयो । ‘हामी धेरै जोखिममा छौं, हिजो मङगलबार दिनभरी कटान रोक्नका लागि बाँधमा माटो हाल्ने काम भएको थियो, तर त्यसले कटान रोकिएन, तल्लो तटीय क्षेत्रमा धेरै धनजनको क्षति हुनसक्छ’ उहाँले भन्नुभयो।

कोसी फुटेपछि वडा नम्बर ३ को एविसी टप्पुका करिब एकसय घर प्रत्यक्ष जोखिममा परेको जनाइएको छ । कोसी फुटेर आएको पानी एबिसी टप्पुको दुवैतिरबाट बग्ने र कटान हुने जोखिम रहेको पौडेलले जानकारी दिनुभयो ।

अहिले कोसी फुटेको स्थानबाटै २०४५ सालसम्म कोसी नदी नै बगेको स्थानीयले बताएका छन् । पछि कोसी नदी पूर्वतर्फ धकेलिएका कारण पश्चिमी क्षेत्रमा बालुवा गिटी थुप्रिएर केही अग्लो डिल बनेको थियो । तर अहिले पुनः कोसी पश्चिमतर्फ नै फर्किएका कारण बेलकामा मात्रै १० हजार घरधुरी डुबानको जोखिममा रहेको मेयर कार्कीले बताउनुभयो।