काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोले पु¥याएको क्षतिबारे जानकारी लिई राहत, उद्धार र व्यवस्थापनमा जुट्न निर्देशन दिनुभएको छ ।

गृहमन्त्री खाँणले म्याग्दीको मालिका गाउँपालिका–२ रुममा गएको पहिरो, चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा गएको पहिरोले पुर्याएको सडक अवरोध र चितवनकै इच्छाकामना गाउँपालिकामा गएको पहिरोबाट भएको क्षति, उद्धार र राहत तथा सडक खुलाउन भइरहेको प्रयासबारे जानकारी लिनुभएको हो ।

उहाँले नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ, म्याग्दीका प्रहरी प्रमुख तिलक भारतीलगायतलाई टेलिफोन गरेर घटनाबारे जानकारी लिई आवश्यक व्यवस्थापनका लागि निर्देशन दिनुभएको हो ।

उहाँले विपद् व्यवस्थापनमा समस्या परेमा मन्त्रालयमा खबर गर्नसमेत निर्देशन दिनुभएको छ । गएराति म्याग्दीको मालिका गाउँपालिका–२ मा माथिबाट झरेको पहिरोले घर पुर्दा सात जना बेपत्ता भएकामा दुई जनाको उद्धार गरिएको, दुई जनाको शव फेला परेको जनाइएको छ । अन्य व्यक्ति बेपत्ता छन् । म्याग्दीका प्रमुख जिल्ला अधिकारी रानाले घाइतेको उद्धार र बेपत्ता भएकाको खोजी जारी रहेको बताउनुभयो ।