काठमाडौं – आज देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज बिहानैबाट प्रदेश–१, बागमती, गण्डकी, लुम्बिनी र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेका नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने र दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

विभागका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती प्रदेश, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।