काठमाडौं – पछिल्लो समय नेपालमा दिन प्रतिदिन कोभिड–१९ सङ्क्रमितको संख्या बढ्दै गएको छ । दिनानुदिन सङ्क्रमितको संख्या बढिरहँदा सरकारले यसअघि कै उपचार केन्द्रलाई पुनः उपचार केन्द्र तोकेको हो । सातै प्रदेशका मुख्य–मुख्य अस्पतालमा उपचार गर्न सरकारले निर्णय गरेको हो । सरकारले गम्भीर र मध्यम अवस्थाका सङ्क्रमितको उपचार गर्न अस्पताल तोकेको छ ।

तोकिएको अस्पतालमा उपचार गर्दा कोरोना सङ्क्रमितले शूल्क तिर्नु नपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपचार वापत सङ्क्रमितको अवस्थाका आधारमा अनुदान दिने मन्त्रालयले जनाएको छ ।

सरकारले तोकेका अस्पतालहरुमा प्रदेश १ को कोशी अस्पताल विराटनगर र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान । मधेश प्रदेशको जनकपुरको प्रादेशिक अस्पताल र नारायणी अस्पताल विरगञ्ज । बागमती प्रदेशको शुक्रराज ट्रपिकल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवनको भरतपुर अस्पताललाई तोकेको छ ।

यसैगरी सरकारले गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरी अस्पताल बागलुङ । लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भेरी अस्पताल नेपालगञ्ज । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेत प्रादेशिक अस्पताल वीरेन्द्रनगर । डडेलधुरा अस्पताल डडेलधुरा र सेती प्रादेशिक अस्पताल कैलालीमा कोरोना सङ्क्रमितको उपचार गर्ने व्यवस्था गरेको छ ।