ललितपुर – ललितपुर महानगरपालिकाका साथै महालक्ष्मी नगरपालिकामा पनि डेङ्गु सङ्क्रमित भेटिएका छन् । महानगरको वडा नं ५ र १४ तथा महालक्ष्मीका केही वडामा डेङ्गुका सङ्क्रमित भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सतिश विष्टले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हामीले मानभवन, कुमारीपाटी एवं तिखिदेवलका साथै महालक्ष्मीमा पनि उक्त रोगका बिरामी भेटेसँगै घर–घर घुमेर लाम्खुट्टे नष्ट गर्ने अभियान थालेका छौँ ।” हालसम्म जिल्लाका ३१ व्यक्तिमा डेङ्गुको सङ्क्रमण भेटिएको छ ।
उक्त रोगलाई जिल्लाबाटै न्यूनीकरण गर्न हरेक व्यक्तिले आफ्नो घरको कौसीदेखि बगैँचासम्म सफाइ गर्नुपर्ने देखिएको र घर वरपर पानी जम्मा हुने स्थान तथा सवारीसाधन धुने पसल एवं होटल आदि क्षेत्रमा विशेष ख्याल पुर्याउन आवश्यक भएको कार्यालय प्रमुख डा. विष्टको भनाइ थियो । रासस