धादिङ – धादिङको धुनीबेशी नगरपालिका–९ सिस्नेखोला सुरुङमार्गको निर्माणाधीन सडकमा पहिरो खसेको छ । पहिरोका कारण आज सोमबार बिहानैबाट सुरुङमार्ग हुँदै नागढुङ्गा नाकाबाट उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको आवागमन प्रभावित भएको छ ।

सुरुङमार्गमा खसेको पहिरो डोजरको सहयोगमा एकतर्फी पन्छाउने कार्य भइरहेकाले उपत्यका भित्रिने सवारी साधनको लर्को धादिङको टायलघरसम्म र बाहिरिने सवारीसाधनको लाइन नागढुंङा चेकपोष्टसम्म रहेको छ । पानी परिरहेको र पहिरो खस्ने क्रम पनि जारी रहेकाले दुईतर्फी सडक खुलाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।