भरतपुर – अविरल वर्षाका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहित खसेको पहिरो पन्छाएपछि सडक दुइतर्फी सञ्चालनमा आएको हो ।

दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको र गन्तव्यमा हिँडेका सवारी साधन गुड्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गए रातिदेखि लगातार पानी परिरहेका कारण सो सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।