फाइल तस्वीर

ललितपुर – नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना‚ विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध‚ आपराधिक लाभ र संगठित अपराधको कसुरमा चन्दसहितका केही नेताविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो ।

अदालतले सो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, उनकी श्रीमती नन्दा विश्वकर्मा, धर्मेन्द्र बास्तोला, उदयबहादुर चलाउने, पदमबहादुर राई, सन्तोष बुढामगर, मोहनबहादुर कार्की, टेकबहादुर केसी, भरतबहादुर बम, नवीन विश्वकर्मा, उमा भुजेल, शंखर दमाई, दमयन्तीकुमारी श्रेष्ठ चिमोरिया, बाबुलाल पुनमगर, सुदीप कुँवरविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । अदालतले उनीहरुलाई ३५ दिनभित्र उपस्थित हुन आदेश जारी गर्दै अन्यथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६५ बमोजिम हुने चेतावनी दिएको छ ।

महासचिव विप्लवलगायतका नेता लामो समयदेखि भूमिगत राजनीतिमा सक्रिय थिए । विसं २०७७ फागुन २१ गते सरकारसँग तीन बुँदे सहमति थियो । सहमतिअनुसार विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध हटाउन, पक्राउ परेका बन्दीको रिहाइ गर्न र उनीहरुविरुद्धको मुद्दा खारेज गर्न सरकार सहमत भएको थियो । त्यसपछि विप्लव समूह खुला राजनीतिमा आएको थियो । सो अघि सरकारले हत्या हिंसामा लागेको भन्दै विसं २०७५ फागुन २८ मा विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।


तत्कालीन केपी ओली नेतृत्वको सरकारमार्फत शान्ति प्रक्रियामा आए पनि उनीहरू विरुद्ध परेको मुद्दा अझै फिर्ता भएको छैन, जसकाकारण अदालतले समय समयमा नै उनीहरू विरुद्ध पक्राउ पुर्जी जारी गर्दै आएको छ ।