काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले महङ्गीविरुद्ध प्रदर्शन गर्ने भएको छ । एमालेले आज काठमाडौँको वसन्तपुरमा महँगी, भ्रष्टाचार र राष्ट्रघातविरुद्ध प्रदर्शन गर्न लागेको हो । एमालेले उपत्यकाका तीनवटै जिल्ला कमिटी, उपत्यका विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी र जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिसहितको बैठकमा जनप्रदर्शनलाई व्यापक बनाउन निर्देशन दिएको छ ।


यसअघि पार्टीका महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले महङ्गीविरूद्ध जनप्रदर्शन गर्ने निर्णय गरेको थियो । प्रदर्शनमा पार्टीका उपत्यकाका तीनै जिल्ला कमिटी, जनसंगठन परिचालन हुने भएको छ । गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्य वृद्धिका साथै हरेक क्षेत्रमा महंगीका कारण नागरिकको जीवन कष्टकर बनेको एमालेको आरोप छ ।

जनप्रदर्शनमा पार्टीका उपत्यकाका तीनै जिल्ला कमिटी, जनसंगठन परिचालन हुने भएका छन् । राजधानीको वसन्तपुरबाट शुरू हुने ¥यालीमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरू र जनसहभागिता गराउने निर्णय भएको पार्टीका कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिनुभयो ।