काठमाडौं – माओवादी केन्द्रका नेता जनार्दन शर्माले पुनः अर्थमन्त्रीको पदभार ग्रहण गर्ने हुनुभएको छ । बजेट प्रकरणमा संसदीय छानविन समितिको प्रतिवेदनमा ‘क्लिन चिट’ पाउनुभएका शर्माको शपथग्रहणको तयारी भइरहेको बताइएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा छलफल गरेर अर्थमन्त्रीका लागि आजै शर्माको नाम प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सिफारिस गर्नुभएको छ । प्रधानमन्त्री देउवाले शर्माको नाम राष्ट्रपति भवन शीतल निवासमा पठाएपछि राष्ट्रपतिबाट आजै शर्माले पद तथा गोपनीयताको सपथ लिनुहने बताइएको छ ।

संसद्मा बजेट प्रस्तुत हुनु अघिल्लो दिन राति अनधिकृत व्यक्ति प्रवेश गराएर बजेटमा करका दर हेरफेर गराएको आरोप लागेपछि असार २२ गते शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन गरिएको थियो । छानबिन समिति गठन हुनुअघि संसद्मा सम्बोधन गर्दै शर्माले छानबिनमा सहयोग गर्ने उल्लेख गर्दै पदबाट राजीनामाको घोषणा गर्नुभएको थियो ।

संसदीय छानबिनले उहाँमाथिको आरोपमा सफाइ दिएपछि शर्मालाई पुनः अर्थमन्त्री बनाउन लागिएको हो । स्रोतका अनुसार त्यस बेला नै शर्माले निर्दोष सावित भए अर्थमन्त्रीमा पुनः नियुक्त गर्ने सर्तमा राजीनामा दिनुभएको थियो । राष्ट्रपतिको कार्यालय स्रोतले भने आधिकारिक रूपमा शपथग्रहणको जानकारी नआएकोले औपचारिक सूचना आएपछि मात्र अर्थमन्त्रीको पदभार ग्रहण बारे जानकारी दिने बताएको छ ।