डोटी – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँचदलीय गठबन्धन सङ्घीय र प्रदेश निर्वाचनपछिसम्म पनि दिगो रहने बताउनुभएको छ ।

एकीकृत समाजवादी जिल्ला कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्न आज सदरमुकाम सिलगढी पुग्नुभएका अध्यक्ष नेपालले सञ्चारकर्मीहरुसँग कुरा गर्दै गठबन्धन अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘पछिसम्म पनि गठबन्धन कायम राख्न पाँच दलका शीर्ष नेता सहमत भएका छन् ।’

फरक प्रसङ्गमा अध्यक्ष नेपालले गठबन्धनकै भर परेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित सिट हासिल गर्न नसकेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय तहमा अपेक्षित सिट हासिल गर्न सकिएन, अबको सङ्घ÷प्रदेशको निर्वाचनमा हामी सोचेभन्दा बढी सिट हासिल गर्छौँ।’