काठमाडौं – विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहलाई एक दिन राजाको रुपमा देख्न चाहेको उल्लेख गर्नुभएको छ ।

उहाँले आफ्नो २० वर्षको पत्रकारिता र ५ वर्षको राजनीति तथा अन्य अनुभवका आधारमा मुलुक ढिलो चाँडो नराम्रो सङ्कटमा फस्ने र सङ्कटको बेला मात्र सदुपयोग गर्ने गरी खोपामा भए पनि राजसंस्था राख्नुपर्ने बताउनुभयो । शनिबार हृदयेन्द्रको २१ औँ जन्मदिनको अवसरमा शुभकामना दिँदै उहाँले फेसबुकमार्फत यस्तो चाहना व्यक्त गर्नुभएको हो । मिश्रले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘म यहाँलाई एक दिन राजाका रूपमा देख्न चाहन्छु । २१औँ जन्मदिनको शुभकामना !’

मिश्रले सन् १९९० मा बेल्जियमका राजा बोदवाँले गर्भपतन सम्बन्धी विधेयक अनुमोदन गर्न नमान्दा सरकारले उहाँलाई कयौं दिनसम्म राष्ट्रप्रमुखको पदबाट निलम्बन गरेको र, संसदले विधेयक अनुमोदन गरेपछि उहाँलाई पुनः गद्दी आसिन गराएको स्मरण गर्दै नेपालका दलहरूले पनि एक दिन राजाको आवश्यकता महसुस गर्ने आँकलन गर्नुभएको छ ।