फाइल तस्वीर

काठमाडौं – परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकी स्टेट पाटरसिप प्रोग्राम (एसपीपी) बारे संसदमा सार्वजनिक रूपमा उठेका प्रश्नहरूको जवाफ दिने हुनुभएको छ । सरकारले गत ६ असारमा एसपीपी अगाडि नडढाउने निर्णय गरेको थियो । उक्त निर्णयबारे अमेरिकालाई जानकारी दिन पत्र नपठाएको भनी सरकारमाथि संसद् र सार्वजनिक रूपमा प्रश्न उठ्दै आएको छ ।

सरकारले अमेरिकी सरकारको रक्षा मन्त्रालय र यसका राज्यहरुको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णयबारेको पत्र अमेरिकालाई पठाएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सेना र नेपाली सेनाबीच हुने भनिएको एसपीपी कार्यक्रम अघि नबढाउने जानकारीसहितको पत्र अमेरिकालाई पठाइएको आज शुक्रबारको संसद बैठकमा दिनुभएको छ ।

’परराष्ट्र मन्त्रालयले सरकारको निर्णयलाई कार्यान्वयन गरिसकेको व्यहोरा जानकारी गराउन चाहन्छु’, उहाँले भन्नुभयो, ’२०७९ साउन ९ गते कूटनीतिक माध्यमबाट एसपीपी कार्यक्रमलाई अघि नबढाउने जानकारीसहित अमेरिकी सरकारलाई पत्र पठाएको जानकारी गराउन चाहन्छु ।’

उहाँले २०७९ असार ६ गते एसपीपी कार्यक्रम अघि नबढाउने भनिसकेको अवस्थामा आन्तरिक छलफल गरेर पत्र पठाउन केही ढिला भएको बताउनुभयो । ’यो निर्णयलाई अमेरिकी सरकारलाई नेपाल सरकारले जानकारी गराएन भनेर सांसदहरुले प्रश्न उठाउनु भएको छ’ ,उहाँले भन्नुभयो, ’एसपीपीबारे नेपाल सरकारले गरेको निर्णयबारे अहिलेसम्मका विकासक्रमबारे जवाफ दिन संसदमा आएको हुँ ।सरकारले यसबारे अमेरिकालाई पत्र पठाइसकेको छ ।’

खड्काले संसदीय समिति र सभामुखबाट पनि एसपीपीबारेको निर्णयबारे जानकारी गराउन निर्देशन प्राप्त भएको बताउनुभयो । ४ साउनमा नेकपा एमालेका सांसद भीम रावलले एसपीपीमा संलग्न नहुने निर्णय अमेरिकालाई जानकारी नगराइएको भनी ‘ रोष्ट्रम कब्जा (रोष्ट्रममा उभिएर अमेरिकालाई पत्र पठाउन निरन्तर माग, सरकारलाई रुलिङ गर्न आग्रह) गर्नुभएको थियो । रावलले रोष्ट्रम नै कब्जा गरेपछि उक्त बैठक स्थगित हुन पुगेको थियो ।

निरन्तर प्रश्न उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले ५ साउन सरकारलाई एसपीपीबारे भएको गतिविधिबारे जानकारी गराउन रुलिङ गर्नुभएको थियो । सोही रुलिङको पालना गर्दै आज शुक्रबार परराष्ट्रमन्त्री खड्काले प्रतिनिधिसभामा जवाफ दिन लाग्नुभएको हो ।