काठमाडौं – प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरूले शिक्षामा रहेका विभिन्न किसिमका समस्या समाधान गरेर शैक्षिक गुणस्तर सुधारमा लाग्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन् । संसद बैठकको शून्य समयमा बोल्दै सांसदहरूले समग्र विकासका लागि पहिले शिक्षामा सुधार गर्नुपर्ने औँल्याएका हुन् ।

सांसद नारायणप्रसाद खतिवडाले अहिले एसइई परीक्षामा सामुदायिक र निजीमा फरक नतिजा देखिएकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारेर आगामी वर्ष राम्रो नतिजा ल्याउनुपर्नेमा जोड दिनुभयो । सांसद पार्वतीकुमारी विसुङ्खेले सरकारले इसिडिका सहजकर्ताले तोकिएको तलब नपाएकाले त्यसमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद डा.डिला सङ्ग्रौलाले गुणस्तरिय नर्सिङ सेवामा सम्झौता नहुने गरी नर्सिङ अध्ययनको वातावरण बनाउन माग गर्नुभयो । सांसद दुर्गाबहादुर राउतले शिक्षामा परिवर्तन नहुँदासम्म अरू परिवर्तन अवरोध हुने भन्दै शिक्षामा विभेदिकरण रोकिनुपर्नेमा जोड दिनुभयो । सांसद टेकबहादुर बस्नेतले राप्ती राजमार्गमा बजेट नै नपर्ने र परेको बजेट कार्यान्वयन नभएको भन्दै काम नगर्ने व्यवसायीलाई कारबाहीको माग गर्नुभयो ।

सांसद दिलकुमारीले लोक सेवाले मधेसका लागि जनशक्ति माग नगर्दा स्थानीय तहमा करारमा कर्मचारी रहेकाले भर्ना प्रक्रिया अघि बढाउन माग गर्नुभयो । सांसद दिव्यमणि राजभण्डारीले यो अधिवेशनमा महत्त्वपूर्ण विधेयक पास भए पनि राष्ट्रियसभामा उत्पत्ति भएका महत्त्वपूर्ण विधेयक रोकिनुको कारणबारे जिज्ञासा राख्नुभयो ।

सांसद नरबहादुर धामीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कारण घरबारविहीन स्थानीयवासीको समस्या समाधानका लागि धेरै कार्यदल बने पनि समाधान नभएकाले नागरिकले दुःख पाइरहेको बताउनुभयो । यसैगरी सांसद नरमाया ढकालले प्रतिनिधिसभाको कार्यकाल सकिन लाग्दा पनि निर्वाचित सांसद रेसमलाल चौधरी जेलमा रहेको भन्दै दोषीलाई कारबाही गरेर निर्दाेषलाई न्यायको माग गर्नुभयो ।

सांसद निरुदेवी पालले निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधीलाई सरकारले कठघरामा ल्याउनुपर्ने र महिला हिंसाका घटनामा गम्भीर हुनुपर्ने बताउनुभयो । सांसद नवराज सिलवालले ललितपुरको माल्टामा ५० वर्षका लागि पुग्ने सिमेन्टको निर्माण सामग्री रहेकामा निजी कम्पनीले सस्तोमा जग्गा लिएर काम नगरेकाले सरकारले त्यो स्वामित्व लिनुपर्ने औँल्याउनुभयो ।