काठमाडौं – अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा मौसम विज्ञान विभनगका अनुसार प्रदेश–१ का केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुनेछ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
झापाकाको शनिश्चरे, चन्द्रगढी, केचना तथा इलाम र झापाको सीमा आसपास केही स्थानमा गएरातिदेखि अति भारी वर्षा भएको छ । मेची, विरिङ, निन्दा, अदुवाखोलालगायत साना खोलामा बाढीको जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । तटीय क्षेत्र र डुबान भइरहने होचा भूभाग, नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने तथा दैनिक जनजीवन, यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।