काठमाडौं – सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घ र प्रदेशको आसन्न निर्वाचनमा अहिलेकै गठबन्धनलाई निरन्तरता दिने बताउनुभएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले अब निर्वाचनसम्म दायाँ–बायाँ सोच्न नहुने बताउनुभएको हो ।

उहाँले एमालेसँग भने सहकार्य सम्भव नभएको बताउँदै बैठकमा समाजवादी मोर्चा निर्माणमा भएको प्रयासबारे पनि जानकारी गराउनुभएको थियो । अध्यक्ष ‘प्रचण्ड’ले हालको गठबन्धन भित्रकै वामपन्थी दलहरूबीच मोर्चा बन्ने भएता पनि पार्टी एकता संयोजन समितिबारे कुनै टुङ्गो नलागेको बताउनुभयो ।

प्रचण्डको भनाई उद्धृत गर्दै स्थायी समिति सदस्य हरिबोल गजुरेलले भन्नुभयो, ‘अहिलेको गठबन्धनलाई कायम राख्नुपर्छ, माधव नेपाल जीहरुसँगपनि सहकार्य गरेर जानुपर्छ, वाम गठबन्धन कायम गर्ने भन्नुभएको छ । वामपन्थी दलहरुबीच पार्टी एकता संयोजन समिति बनाएर अगाडि बढ्न सकिने ब्रिफिङ गर्नु भएको छ । ’

महाधिवेशन सकिएको लामो समय बितिसक्दा सम्म पनि पार्टी पदाधिकारी चयन गर्न नसकेको माओवादी केन्द्रको शीर्ष नेताहरुकै सहभागितामा आज स्थायी समितिको बैठक बसेको थियो । तर, बैठकले पदाधिकारी चयन र स्थायी समितिलाई पूर्णता दिनेबारे कुनै ठोस निर्णय नलिएको बताइएको छ । यस सम्बन्धमा भोलि शुक्रबार बिहान ८ बजे पुनः बस्ने बैठकमा थप छलफल हुने माओवादी केन्द्रका एक नेताले जानकारी दिनुभयो ।