काठमाडौं – राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै सांसद प्रकाश पन्थले माध्यामिक शिक्षा परीक्षा(एसईई) को नतिजाको सन्दर्भमा विद्यालयको मूल्याङ्कन ठीक कि बोर्डको नतिजा ठीक भन्दै प्रश्न गर्नुभएको छ । राष्ट्रियसभाको बिहीवारको बैठकमा उहाँले विद्यालयले मूल्याङ्कन गर्दा ४ जीपीए ल्याउने ९ हजार जनाभन्दा बढी र परीक्षा बोर्डले मूल्याङ्कन गर्दा ४२ जना मात्रै भेटिएको भन्दै नतिजाको सन्दर्भमा प्रश्न उठाउनु भएको हो ।

सांसद पन्थले एसईईको नतिजाको पुन छानबिन गर्नुपर्ने माग पनि गर्नुभएको छ । ‘विद्यालयले मूल्याङ्कन गर्न जीपीए ४ ल्याउने ९ हजार भन्दा बढी थिए । बोर्डले परीक्षा लिँदा ४२ जना मात्रै भए । किन यस्तो भयो ? कहाँ, किन र कसरी यो फरक परेको हो ?’, उहाँले भन्नुभयो, ‘४२ जनाले ल्याउने ठीक हो कि, ९ हजार बढीले ल्याउने ठीक हो भन्ने कुराको छानबिन होस् ।’

उहाँले परीक्षामा कमजोर ग्रेड ल्याउनेहरूलाई सरकारले अध्ययन बाहेक के अवसर दिन्छ भन्ने प्रश्न पनि गर्नुभयो । ‘राम्रो जीपीए र ग्रेड ल्याउनेहरूलाई हातमा सर्टिफिकेट र उच्च शिक्षाको अवसर छ । तर कमजोर ग्रेड ल्याउनेहरू लाखौँका लागि सरकारसँग के छ ?’, उहाँले भन्नुभयो, ‘बेरोजगार बढाउने हो कि ? पासपोर्ट थमाउने हो कि ? सीप, तालिम, प्रविधि के छ ? शिक्षा मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’