काठमाडौं – काठमाडौं उपत्यकाको फोहोर सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फाल्न नदिने स्थानीयवासीले घोषणा गरेका छन् । आज बिहीबार पत्रकार सम्मलेन गर्दै बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिले आगामी भदौ १ गतेदेखि सधैंका लागि उपत्यकाको फोहोर फाल्न नदिने घोषणा गरेका हुन् ।

महानगरले सम्झौताअनुुसार काम नगरेको, उपत्यकाको अन्य स्थानमा ल्यान्डफिल साइट खोजेर बञ्चरेडाँडावासीलाई बेवास्ता गर्न खोजेको भन्दै समितिले फोहोर फाल्न नदिने घोषणा गरेको बताइएको छ । समितिले यो विषय प्रधानमन्त्री कार्यालय, सहरी विकास मन्त्रालयमा समेत जानकारी गराइसकेको छ ।

सरोकार समितिका संयोजक श्रीराम ढुङ्गानाका अनुसार सरकारसँग १ भदौदेखि फोहोर फाल्ने भए जम्मा दुई वटा मात्रै विकल्प रहेको छ । संयोजक ढुङ्गानाले, ‘मानबस्तीरहित ल्यान्डफिल साइट विकास क्षेत्र वा फोहोरमैला प्रदूषणरहित मानवबस्ती विकास क्षेत्र मध्ये सरकारले एउटा मात्रै छान्न पाउने छ । बञ्चरेडाँडाका मानिसहरुको जिउधनको रक्षा गर्ने, हाम्रो मागहरु पूरा गर्ने ग्यारेन्टी गरे मात्रै १ भदौ गतेदेखि फोहोर जान पाउने बताउनुभयो ।’