दमौली – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रे–आँबुखैरेनी सडकखण्ड अवरुद्व भएको पाँच घण्टापछि सञ्चालनमा आएको छ । उक्त सडकखण्ड आज बिहान करिब ३ बजेदेखि अवरुद्व भएको थियो । जिल्लाको बन्दीपुर गाउँपालिका–५ याम्पा नजिक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्व भएको हो ।

गए रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा कयौँ सवारीसाधान राजमार्गमा रोकिन पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । लामो समय सवारीसाधन रोकिँदा यात्रुले सास्ती भोग्नुपरेको थियो ।

प्रहरीको भनाइ अनुसार डोजरको सहायताले पहिरो पन्छाएपछि अहिले दुवैतर्फी सवारीसाधन निर्वाधरूपमा सञ्चालन भएको छ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको अन्य सडक खण्डमा भने कुनै अवरोध भएको छैन ।