काठमाडौं – करको दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गराएको विषयमा छानविन गर्न गठित संसदीय छानविन समितिको बैठक बस्दै छ । अहिले बिहान ८ बजेका लागि बोलाइएको बैठकमा नेपाल प्रहरीको फरेन्सिक ल्याबले बुझाएको प्रतिवेदनमाथि छलफल हुने भएको बताइएको छ । बजेट निर्माण गर्दा १४ जेठ राति अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेपछि जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो । सोही विषयमा संसदीय विशेष समितिमा छलफल जारी छ ।

गत ४ साउनमा डिलिट भएको भनिएको सीसीटीभी फुटेज रिकभरका लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको थियो । असम्बन्धित व्यक्तिलाई प्रवेश गराई करको दर हेरफेर गरेको भन्दै संसदले गत २२ असारमा ११ सदस्यीय विशेष छानबिन समिति गठन गरेको थियो । सुरुमा समितिलाई १० दिनको समय दिइएता पनि निर्धारित समयमा समितिले अर्थमन्त्री जनार्दन शर्मा, अर्थ मन्त्रालयका सचिव, विभिन्न विभागका महानिर्देशक लगायतसँग छलफल गरेको थियो ।

तर, उहाँहरुसँगको बयानबाट पनि अर्थमन्त्री शर्माले कुनै गलत नगरेको पुष्टि भएपछि समितिले सीसीटीभी फुटेज हेरेको थियो । फुटेजमा पनि यथार्थ विवरण प्राप्त नभएको भन्दै समितिले डिलिट भएको सीसीटीभी फुटेजलाई फरेन्सिक ल्यावमा पठाएर रिकभर गराउन खोजेको हो । छानविन गर्न गठित समितिले जनार्दन शर्माको कुनै पुष्टि हुने आधार नदेखेको भन्दै प्रतिवेदन लेख्न थालेको छ । दोस्रो पटक थपिएको ७ दिनको समयमध्ये तीन दिन बितिसकेको छ । हिजो सोमबारदेखि नै समितिले निष्कर्ष समेटेर प्रतिवेदन लेख्न थालेको ११ सदस्यीय विशेष छानबिन समितिका एक सदस्यले जानकारी दिनुभयो ।