काठमाडौं – सरकारले प्लास्टिकका झोला उत्पादन, बिक्री वितरण तथा प्रयोगमा कडाइ गर्ने भएको छ । वातावरण विभागले एक सूचना जारी गरी आगामी भदौ १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला उत्पादन र प्रयोग गर्न प्रतिबन्ध लगाउने भएको हो ।
सरकारले २०७८ असोज १९ मै राजपत्रमा सूचना प्रकाशन गरी ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला उत्पादन तथा प्रयोग गर्न बन्देज लगाएको थियो । तर कोरोना महामारीका बेला अनुगमन फितलो हुँदा फेरि प्लास्टिकका झोला उत्पादन र प्रयोग बढेको विभागले जनाएको छ ।

विभागका अनुसार ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको प्रयोगले वातावरणमा प्रतिकूल प्रभाव पार्ने, खोला तथा नदी प्रदूषित भएको, ढल तथा पानीका निकासका पाइपमा जम्मा हुन गई ढल निकासमा बाधा पुगेको छ ।

अब भदौ १ देखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला उत्पादन, बिक्री वितरण तथा प्रयोग गरिए वातावरण संरक्षण ऐन २०७७ बमोजिम कारबाही गरिने वातावरण विभागले जनाएको छ ।