फाइल तस्वीर

काठमाडौं – राष्ट्रियसभाको आजको बैठकमा नेपाली नागरिकता (पहिलो संशोधन) विधेयकसहित दुई विधेयक टेबुल भएका छन् । सङ्घीय संसद भवन नयाँबानेश्वरमा जारी बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाली नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई सभा समक्ष टेबुल गर्नुभएको हो ।
सचिव फुँयालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभा पठाइएका ‘नेपाल इञ्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ र ‘ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी सभा समक्ष पेश गर्नुभयो ।

त्यस्तै, बैठकमा खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी तथा सरसफाइ विधेयक, २०७६ लाई दफाबार छलफलका लागि विधेयन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो । पहिलो बैठक १० मिनेटका लागि स्थागित भएर अहिले दोस्रो बैठक सुरु भई नागरिकता विधेयकमाथि छलफल भइरहेको संसद सचिवालयले जनाएको छ ।