काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले अछामको तुर्माखाँद गाउँपालिका –२ भुलुमा आइतबार राति गएको पहिरो र त्यसले गरेको क्षतिबारे जानकारी लिनुभएको छ । उहाँले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र डिएसपी नारायण डागीलाई टेलिफोन गरेर आवश्यक पर्ने उद्धार र राहतको कार्यमा कुनै कसर बाकी नराख्न निर्देशन दिनुभएको हो ।

गृहमन्त्री खाँणले आवश्यक सहयोगबारे मन्त्रालयमा जानकारी गराउन निर्देशन दिँदै घाइतेको उपचार र तत्कालको राहत उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीलाई भन्नुभएको छ । आइतबार राति अमर विष्टको घर पहिरोमा पुरिँदा उनकी भाउजू हरिकला विष्ट, भाइ वीरेन्द्र विष्ट र भतिज १५ वर्षीय संविधान विष्टको मृत्यु भएको थियो ।

६५ वर्षीया नैना विष्टको भने जीवितै उद्धार गरेर अस्पताल लगिएको प्रमुख जिल्ला अधिकारी मरासिनीले बताउनुभयो । उहाँले भन्नुभयो, घरमुली अमर कामका सिलसिलामा घर बाहिर छन् । अहिले पहिरो रोकिएको छ ।