अछाम – वर्षाको मौसम सुरु भएसँगै परिरहेको अविरल पानीका कारण अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा पहिरोले घर पुरिँदा एउटै परिवारका तीन जनाको मृत्यु भएको छ । गएराति १ बजेतिर खसेको पहिरोले स्थानीय पदम सिंह विष्टको घर पुरिँदा उनका परिवारका सदस्यहरुको मृत्यु भएको हो ।

मृतकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । पहिरोमा पुरिएर एक जना घाइते भएका छन् । उनलाई उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।