भक्तपुर – भक्तपुरको सल्लाघारीमा सडक छेउको रूख ढलेर सवारीसाधनलाई किच्दा तीन जनाको मृत्यु भएको छ । सडकमा गुडिरहेको एउटा यात्रुवाहक मिनिबस र स्कुटरमाथि बज्रिँदा तीन जनाको मृत्यु भएको हो भने एक दर्जनभन्दा बढी घाइते भएका छन् ।

रुख ढलेर सडकमा गुडिरहेको यात्रुवाहक बसमा पर्दा गाडीमा रहेका दुई जनाको मृत्यु भएको हो भने स्कुटरलाई थिच्दा स्कुटरमा सवार एक जनाको मृत्यु भएको हो । ट्राफिक प्रहरी कार्यालय सल्लाघारी भक्तपुरका अनुसार घटनामा परेर तीन जनाको मृत्यु र एक दर्जनभन्दा बढी घाइते भएका छन् । मृतक र घाइतेहरूको पहिचान खुल्न बाँंकी नै रहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौंबाट भक्तपुर आइरहेको बा२ख ३५८४ नम्बरको मिनिबस र बा६१प ३९७८ को स्कुटरलाई ढलेको रुखले किचेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडीमा सबै गरेर दुई दर्जनको संख्यामा यात्रुहरू थिए । पछाडिको भागमा किचिएकाले गाडीका चालक र सहचालक भने सकुशल रहेको र घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ ।