रुपन्देही – नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले काङ्ग्रेसलाई तर्साउनका लागि बाम गठबन्धन र बाम एकताको फन्दा चलाइएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल रुपन्देहीले आज शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले काङ्ग्रेसलाई तर्साउन र चुनावका लागि बार्गेनिङ गर्न बाम गठबन्धनको हल्ला फिँजाइएको दाबी गर्नुभयो ।

काङ्ग्रेसले आफ्नै नेतृत्वमा सरकार बन्ने गरी मात्र गठबन्धन गर्ने भनी गरेको निर्णयबाट सत्ता साझेदार अन्य दलले पसिना काढेको चर्चा गर्दै उपमहासचिव ज्ञवालीले भन्नुभयो– ’अलि पहिले प्रधानमन्त्रीको अफर आयो भन्ने फन्डा चलाइएको थियो, त्यो फेल खायो, अब बाम एकताको फन्डा चलाइएको छ ।’

काङ्ग्रेसले चुनाव जित्दा खुसी मनाउनेहरूलाई वामपन्थी मान्न नसकिने भन्दै उहाँले एमालेको नेतृत्व स्वीकार गरेर देश विकास र समृद्धिको एजेण्डा मिल्नेहरूसँग भने चुनावी एकता हुन सक्ने बताउनुभयो । गठबन्धन नगरी चुनाव जितिन्न भन्ने सोचमा एमाले नरहेको दाबी गर्दै उपमहासचिव ज्ञवालीले एमाले सत्ता प्राप्त गर्नकै लागि जोसँग पनि लहसिनुपर्छ भन्ने मान्यताबाट टाढा रहेको उल्लेख गर्नुभयो । ’सत्ता नै सबै कुरा हो भनेर जोसँग पनि लहसिने काम एमालेले गर्दैन,’ ज्ञवालीले भन्नुभयो ।
फरक प्रशंगमा उपमहासचिव ज्ञवालीले नागरिकता विधेयकमा माओवादी केन्द्र आफ्नो अडानबाट पछि हटेर आफ्नै सांसदहरूको भावनामा चोट पु¥याएको बताउनुभयो । उहाँले माओवादी केन्द्रकै सांसदहरूले संशोधन प्रस्ताव राखेको नागरिकताको वैवाहिक अङ्गीकृत नागरिकताको एजेण्डा विपरीत विधेयक पास गरिएको बताउनुभयो । रहस्यमय तरिकाबाट विधेयक पास गरिएको उहाँको भनाइ छ । वैवाहिक अङ्गीकृत नागरिकतासम्बन्धी पारित विधेयक देशको हितमा नभएको उहाँको दाबी छ ।

नोकरी, व्यापार, व्यवसाय र अन्य क्रियाकलाप गर्न दिए पनि विवाह गरेर ल्याएलगत्तै नागरिकता दिनुपर्ने मागको एमालेले पहिले पनि विरोध गरेको र अहिले पनि विपक्षमा रहेको ज्ञवालीले बताउनुभयो । वैवाहिक अङ्गीकृतबाहेकका अन्य एजेण्डामा भने सरल र सहज तरिकाले हरेक नेपालीले नागरिकता पाउनु पर्ने पक्षमा एमाले रहेको पनि उहाँले प्रष्ट पार्नुभयो । एमालेका उपमहासचिव ज्ञवालीले भन्नुभयो, ’नागरिकता जस्तो संवेदनशील विषयमा विगतका सहमतिलाई पनि लत्याएर जुन रातारात विधेयक पारित गरियो यसले देशलाई अप्ठ्यारोमा पार्ने निश्चित छ ।’