फाइल तस्वीर

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । स्मृति दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल पार्कमा पुष्पलालको शालिकमा माल्यार्पण कार्यक्रम गरेको थियो । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुले पुष्पलालको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।
माल्यार्पण कार्यक्रमपछि आयोजित कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले नेपालको कम्युनिस्ट एकतामा पुष्पलालले खेलको भूमिकाको स्मरण गर्दै भन्नुभयो, राजनीतिमा विकृति, विसङ्गति, व्यक्तिवादी प्रवृति देखापरेको भन्दै यसप्रति सबै सजक भएर आफूले कर्तव्य पूरा गरेको छ कि छैन भन्ने समीक्षा गर्नुपर्ने धारणा राख्नुभयो । दलाल पुँजीलाई पोसेर देशमा समाजवाद आउन सम्भव नरहेको उहाँको भनाइ छ ।

पुष्पलाल श्रेष्ठले विश्व कम्युनिस्ट घोषणापत्रलाई वि.सं. २००५ सालमा नेपालीमा अनुवाद गरी कम्युनिस्ट सिद्धान्तलाई नेपाली मार्क्सवादी विश्लेषकको पहिचान दिनुभएको थियो । पुष्पलालको ५४ वर्षको उमेरमा २०३५ साल साउन ७ गते निधन भएको थियो ।