फाइल तस्वीर

जनकपुर – सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी दलहरूको चुनावी मोर्चा हुनसक्ने बताउनुभएको छ । सर्लाहीको एक कार्यक्रमलाई सम्बोधन गर्न हिँड्नुभएका प्रचण्डले जनकपुर विमानस्थलमा आज शनिबार पत्रकारहरूसँग कुराकानी गर्दै पाँचदलीय गठबन्धनभित्र वामपन्थी पृष्ठभूमिका दलहरूसँग वार्ता भइरहेकाले मोर्चाबन्दी हुन सक्ने बताउनुभएको हो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनकपुर विमास्थलमा पत्रकारहरूसँगको कुराकानीका दौरानमा भन्नुभयो, ‘पाँच दलीय गठबन्धनभित्र भएका वामपन्थी पृष्ठभूमिका सबै नेताहरूसँग कुराकानी भइरहेको छ । त्यसमा माधवजी, उपेन्द्रजी, बाबुरामजी हुनुहुन्छ र अहिले त्यसमा वामदेवजी पनि मिसिनुभएको छ । गठबन्धन भित्रका वामपन्थीहरूको बीचमा एउटा राम्रो समझदारी बनिरहेको छ । सकियो भने चुनावका लागि विशेष मोर्चा निमार्ण पनि हुन सक्छ । भोलि एकता हुने भयो भने पार्टी एकता संयोजन समितिको नामबाट मोर्चाबन्दी पनि हुन सक्छ भनेर छलफल अघि बढाएका छौं ।’

गठबन्धनभित्र र बाहिरका वामपन्थी दलहरूबीच छलफल चलिरहेता पनि अहिले नै निष्कर्षमा नपुगेको प्रचण्डको भनाइ छ ।