काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राजनीतिक इतिहासमा बीपी कोइरालाको विशिष्ट स्थान रहेको बताउनुभएको छ । शुक्रबार आयोजित बीपी कोइराला राष्ट्रिय पुरस्कार, २०७८ वितरण समारोहमा बोल्नुहुँदै नेपाली काङ्ग्रेसका सभापतिसमेत रहनु भएका प्रधानमन्त्री देउवाले बीपी कोइरालालाई नेपाली समाजले उच्च राजनीतिक चिन्तक र विश्लेषकका साथै नेपाली भाषा–साहित्यका एक उत्कृष्ट स्रष्टाका रूपमा पनि चिन्ने गरेको बताउनुभयो ।

उहाँले विभिन्न उतार चढाव र सङ्घर्षले भरिएको नेपालको राजनीतिक विकास क्रम अध्येताहरूका लागि चाखलाग्दो मात्र नभई स्वयंमा एउटा गहकिलो अध्ययनको विषय पनि भएको चर्चा गर्दै भन्नुभयो, ‘‘हामीले हाम्रो राजनीतिक चिन्तन र संस्कृतिलाई समयको गतिसँगै थप परिष्कृत तथा समृद्ध बनाउँदै देश एवं जनताको अधिकतम हितमा प्रयोग गर्ने प्रणाली विकास गर्दै जानुपर्ने खाँचो छ ।’’

प्रधानमन्त्री देउवाले बीपी कोइराला साहित्यिक विधातर्फ डा. विष्णुविभु घिमिरे र डा. धु्रवचन्द्र गौतमलाई तथा बीपी कोइराला राजनीतिक दर्शन विधातर्फ पुरुषोत्तम बस्नेत र बीपी सङ्ग्रहालयलाई प्रदान गर्नुभयो । बीपी कोइरालाले मुलुकको राजनीतिक परिवर्तन र नेपाली भाषा साहित्यको श्रीवृद्धिमा पु–याउनुभएको अतुलनीय योगदानको कदर गर्दै नेपाल सरकारले गत आर्थिक वर्ष २०७८÷७९ देखि लागू हुने गरी बीपी कोइराला राष्ट्रिय पुरस्कारको स्थापना गरेको छ । सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बीपी कोइराला जस्ता स्वच्छ राजनीतिक छवि भएका व्यक्तिको जीवनीबाट पछिल्लो पुस्ताले असल पाठ सिक्नुपर्ने बताउनुभयो ।