हेटौंडा – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनको मिति चाँडै नै घोषणा गरिने जानकारी दिनुभएको छ । आज मकवानपुरको हेटौँडामा आयोजित नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्नुहुँदै उहाँले सरकारले आम निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “सरकार निर्वाचनको तयारीमा जुटिरहेको छ । निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादित रुपमा सम्पन्न गराउने गरी कलम चलाइदिनुस् । निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई सुदृढ बनाउँछ ।” उहाँले राजनीतिक स्थायित्वका विषयमा पत्रकारिता जगत्ले कलम चलाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

प्रधानमन्त्री देउवाले पछिल्लो समय नियोजित रूपमै लाञ्छना लगाउने क्रम बढेको बताउँदै निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई बलियो बनाउने धारणा राख्नुभयो । उहाँले, “परिवर्तनका लागि भएको नेपालको आन्दोलनमा प्रेसको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गर्दै सत्य तथ्य सूचनाले मात्रै मुलुकको विकास हुने पनि उल्लेख गर्नुभयो । लोकतन्त्रलाई सुदृढ बनाउन स्वच्छ पत्रकारिताको आवश्यकता रहेको बताउँदै प्रधानमन्त्री देउवाले नेपाली काङ्ग्रेस लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताप्रति सदैव प्रतिबद्ध रहेको बताउनुभयो ।