फाइल तस्वीर

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेका सांसद शेरबहादुर तामाङले नागरिकता विधेयकमा नागरिकता प्रदान गर्ने व्यवस्था खुकुलो बनाइएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । आज प्रतिनिधिसभामा जारी छलफलमा सांसद तामाङले वैवाहिक अङ्गिकृत नागरिकताको विषयमा विधेयकमा महिला र पुरुषलाई छुट्टै व्यवहार गरेको भन्दै असन्तुष्टि जनाउनुभएको हो ।

एमालेका सांसद तामाङ्ले भन्नुभयो– ‘बिहे गर्ने पुरुषले मात्र हो ? महिलाले बिहे गर्दैनन् ? पुरुषले विहे गरेर ल्यायो भने अहिल्यै दिनुप¥यो ? महिला नागरिक हैनन् ? समानताको हकलाई कुल्चन मिल्दैन, परिवार पुरुषले मात्र बसाल्छ ? महिलाले बसाल्दैनन् ? त्यसैले नागरिकतामा समान हक हुनुपर्छ ।’ विधेयकमा संविधानको मर्म र भावनालाई नसमेटिएको उहाँको भनाइ छ । सांसद तामाङले ब्रिटिस गोरखाहरूले नागरिकता पाएको विषयलाई नेपालको सन्दर्भमा दाँज्न नमिल्ने तर्क गर्नुभयो ।

तामाङले आमाको पवित्रतामाथि प्रश्न उठाउनु गलत भएको बताउनुभयो । ‘आमाको पवित्रतामाथि किन प्रश्न । आमा त सत्य हो नि । बुबा त आमाले भनेपछि न विश्वास हुने हो,’ उहाँले भन्नुभयो, ‘कुनै किन्तु परन्तु जोड्नैपर्छ र ? हामी आमाका सन्तान यो बैठकमा बसेर च्यालेन्ज गर्न मिल्दैन ।’