काठमाडौं – सभामुख अग्नीप्रसाद सापकोटाले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि भएका नीतिहरूलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ । अन्तर्राष्ट्रिय दिगो पर्वतीय वर्ष २०२२ को अवसरमा वन तथा वातावरण मन्त्रालयले आज शुक्रबार काठमाडौंमा सांसदहरूसँग गरेको छलफल कार्यक्रममा सभामुख सापकोटाले देशमा बनेका नीतिहरू कार्यान्वयन गर्न निकै चुनौती रहेको भन्दै जलवायु परिवर्तनको समस्या समाधानका लागि भएका नीतिहरूलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले जलवायु परिवर्तनले दिएको शिक्षालाई आत्मसाथ गर्ने सङ्कल्प गर्नुपर्ने धारणा पनि राख्नु्भएको छ । जलवायु परिवर्तनका कारण विश्वमा नै एकपछि अर्को धक्का दिइरहेको भन्दै सभामुख सापकोटाले यसको असर न्यूनीकरणका लागि समस्यालाई बुझेर समाधानको बाटो खोज्नुपर्ने धारणा राख्नुभयो । उहाँले अहिले आफूले राज्यका तीन अङ्गमध्ये एक अङ्गको जिम्मेवारी बहन गरिरहेको र उक्त भूमिका देश र जनताको हितलाई अघि सार्दै पूरा गर्ने बताउनुभयो ।

कार्यक्रममा सांसदहरुले जलवायु परिवर्तनले विभिन्न असर देखाइरहेको भन्दै यसको न्यूनीकरणका लागि विश्व समुदायसँग हातेमालो गरेर अघि बढ्नुपर्ने सुझाव दिनुभएको छ ।