काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका जनवर्गीय सङ्गठनहरूले प्रदेश संरचना खारेजीलगायतका माग राख्दै आज काठमाडौँमा संयुक्त रुपमा विरोध प्रदर्शन गरेका छन् । राप्रपा अध्यक्ष कमल थापा नेतृत्वको जनवर्गीय सङ्गठनहरूले थापाकै उपस्थितिमा काठमाडौंको माइतीघरबाट सो प्रदर्शन सुरु गरेको हो । प्रदर्शनमा पार्टीका सबै जनवर्गीय संगठनहरूको उपस्थिति रहेको छ ।

सो पार्टीका एक नेताका अनुसार जनवर्गीय संगठनहरूले प्रदेश संरचना खारेज हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी सनातन हिन्दु राष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरी भ्रष्टाचारीलाई कारबाही गरिनुपर्ने, रोजगारीको सुनिश्चितता हुनुपर्ने, महँगी र कालोबजारी नियन्त्रण गरिनुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने माग राखेका छन् ।

माइतीघर मण्डलाबाट सुरु भएको विरोध प्रदर्शन बानेश्वरतर्फ अघि बढेको छ । युवक, विद्यार्थी, महिला, युवा मोर्चा, मजदुर, पूर्व प्रहरी, धार्मिक संगठन, सांस्कृतिक संगठनलगायतका जनवर्गीय संगठनहरूको प्रदर्शनमा सहभागिता देखिन्छ ।