फाइल तस्वीर
काठमाडौं – प्रतिनिधिसभाको आज शुक्रबारको बैठकमा नागरिकता विधेयक बाहेक अन्य विषय संसदको कार्यसूचीबाट हटाइएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सङ्घीय संसद् सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख गरिएको छ । सरकारले नागरिकता विधेयक संसद बैठकबाट फास्ट ट्रयाकमा पास गर्ने तयारी गरेको छ । प्रतिनिधिसभाको बैठक केहीबेर अघि सुरु भएको छ ।

यसअघि सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विशेष सेवा विधेयक दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने, गृहमन्त्री खाँणले कारागार विधेयक २०७८ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने लगायतका विषय पनि थिए ।

नागरिकता विधेयकप्रति प्रमुख प्रतिपक्षी दल एमालेलगायत संसद बाहिर रहेका अन्य राजनीतिक दलहरुले विरोध गर्दै आएका छन् । सत्ता र दलीय स्वार्थमा केन्द्रीत राजनीतिक दलहरुले नागरिकता विधयकलाई फास्ट ट्रयाकमा पास गर्न लागेका छन् ।