फाइल तस्वीर
काठमाडौं – करको दर हेरफेर प्रकरणको विषयमा छानविन गर्न गठित संसदीय छानविन विशेष समितिको बैठक आज शुक्रबार पनि बस्ने भएको छ । छानविन विशेष समितिको बैठकले छानविनका क्रममा मन्त्रीदेखि सचिवहुँदै सोसम्बन्धी समाचार लेख्ने पत्रकारहरुसँग लिइएको बयानलाई समावेश गरी प्रतिवेदन लेख्ने कार्य अघि बढाउन बैठक बस्न लागेको हो ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका तात्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न बनेको संसदीय समितिको बैठकले तात्कालीन अर्थमन्त्री शर्मामाथिको छानविन प्रतिवेदन लेख्न सुरु गरिने बताइएको छ ।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा बजेट भाषण गर्नु एक दिन अघि अथातृ जेठ १४ गते अनधिकृत व्यक्तिलाई मध्यरातमा मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको थियो । प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता घटक दलका सांसदहरुले नै सो प्रकरणको छानविनका लागि विशेष समिति गठन गर्नुपर्ने माग गरेपछि प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले गत असार २९ गते ११ सदस्यीय संसदीय छानविन विशेष समिति गठन गर्नु भएको थियो । सो समिति बने लगतै शर्माले अर्थमन्त्रीको पदबाट राजीनामा दिनुभएको थियो ।

तात्कालीन अर्थमन्त्री शर्माले हिजो सिंहदरवार पुगेर संसदीय छानविन विशेष समितिमा आफुले देशका लागि अहित हुने कुनै काम नगरेका जिकिर गर्दै बयान दिनु भएको थियो ।