फाइल तस्वीर
काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकबाट नागरिकता विधेयक पारित हुने बताइएको छ । आज शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकले आजै नागरिकता विधेयक पारित गर्ने तयारी गरेको हो ।

प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विशेष सेवा विधेयक, २०७६’ छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ । नागरिकता विधेयकलाई फास्ट ट्रयाकबाट पारित गर्न लागिएको हो ।

संसद सचिवालयका अनुसार नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ छलफलका लागि सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि प्राप्त संशोधनलाई निर्णयार्थ पेस गर्ने कार्यसूची समेत रहेको छ ।

नागरिकता विधेयकप्रति प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले भने विरोध गर्ने भएको छ । एमाले वैवाहिक अङ्गिकृत नागरिकता ७ वर्षपछि दिनुपर्ने पक्षमा देखिएको छ ।

आजैको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको कारागार विधेयक, २०७६ छलफलका लागि सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।